Saturday, July 26, 2014

नाटकमा नभएको म

लेखु कि नलेखु? ह्या के लेख्नु । हैन हैन लेख्छु । ह्या होस् लेख्दिन होला सायद । आज “चरनदास चोर” हेरेर फर्कदै गर्दा नेपाल यातायात को भिडमा हराएको मेरो सोच । नाटक सुरु हुनु पूर्व एक जना प्रश्तोताले नाटक घर भित्र पालना गर्नुपर्ने नियमहरु भन्दै जाँदा उनी भन्छन् “नाटक चलिरहेको बेला एक आपसमा हल्ला गर्न पाईने छैन, यदि ईर्मजेन्सिमा हल्ला गर्नु परे छेउको साथिले नसुन्ने गरी गर्नुहोला”, नाटक को नियमलाई मैले नेपाल यातायातमा पनि पालना गरे । माथिको कुरामा छेउको साथिले पनि नसुन्ने गरी मन मनै हल्ला गर्न थाले, “कि आज घर गएर नाटकको बारेमा केहि लेखु वा नलेखु ?” यक्तिकैमा एउटा साथिको फोन आयो र उसंग नाटकको बारेमा कुरा गर्दै गर्दा आजको नाटकमा चरनदासले आबेगमा आएर गरेका विभिन्न ४ प्रणहरु जस्तै गरी मैले पनि उक्त साथि संग फ्याट्टै भनिदिए “म आज केहि लेख्छु ।” अब चरनदास बाट सिकेको पाठको पालना त गनैृ पर्या,े त्यसैले आफ्नो प्रण पुरा गर्न घर पुगेर खाना खाने वित्तिकै लेख्न थाले “नाटकमा नभएको म” । नाटकमा भन्ने गरेजस्त;ै यो लेख पढेर तपाईलाइ राम्रो लाग्यो भने अरुलाई पनि पढ्न भनिदिनु होला र यदि राम्रो लागेन भने मलाई भक्कुमार गालि गर्नुहोला या सुझाब दिनुहोला । अब सुरु गर्छु “नाटकमा नभएको म”..........

गुरुकुल बन्द भएपछि नाटक हेर्न नपाएर भौतारिएको म केहि समय पहिले मण्डलामा पुगे जतिबेला त्यहाँ “सुनकेशरी” नामक नाटक लागी रहेको थियो, त्यो दिन बाट मण्डला तर्फ सुरु भएको मेरो यात्रा आज सम्म पनि जारी छ । मेरो सम्झना शक्तिले भ्याएसम्म मलाई लाग्छ मैले आजसम्म मण्डलाको कुनै पनि नाटक छुटाएको छैन । किनकी मैले मण्डलाका नाटकमा गुरुकुलको स्वाद पाएको छु र राजन खतिवडामा सुनिल पोखरेल ।  पत्याउनु भएन ? चरनदासले झुटो नबोले जस्तै मैले पनि झुटो बालेको हैन । हो एउटा छुटाएको थिए, त्यो थियो “चरनदास चोर” । हो पहिलो पटक यो नाटक मञ्चन हुँदा म कामको सिलसिलामा काठमाण्डौ बाहिर भएकोले छुटेको थियो तर आज त्यो पनि हेरियो र चरनदानसले “हो मैले सुनको सिक्का चोरेको हो तर १० वटा हैन, ५ वटा” भने जस्तै गरि म पनि भन्छु “ हो मैले आजसम्म मण्डलाको कुनै पनि नाटक छुटाएको छैन ।” 

आज चरनदासका प्रणहरु सुन्दै र हेर्दै गर्दा मलाई पनि मैले गरेको एउटा प्रणको याद आयो जुन मैले मण्डलामा पहिलो नाटक “सुनकेशरी” हेर्दा गरेको थिए । त्यो दिन सम्झदा मलाई आज पनि नरमाईलो लाग्छ । त्यतिबेला म कलेजको विद्यार्थी नै भएकोले म संग विद्यार्थी कार्ड थियो र छुट लिएर मैले रु. १०० को टिकट काटे र नाटक घरमा छिरे । नाटक घर भित्र हामि त्यस्तै १६–१७ जना थियौ नाटक सुरु भयो र सकियो पनि । अन्तिम मा सबै कलाकारहरु मञ्चमा देखिए, मैले यसो गने, कलाकारहरु १२–१३ जनाको हाराहारीमा थिए । यसले मलाई साह्रै नरमाईलो लाग्यो र मैले प्रण गरे “अब देखि म कार्ड भएपनि रु.२०० को टिकट काट्ने छु” र आजसम्म त्यो प्रण पुरा गरिरहेकी छु र जसरी चरनदासले आफ्नो अन्तिम सास रहुन जेल सम्म पनि आफ्नो प्रण त्यागेन आशा छ म पनि मेरो प्रणलाई निरन्तरता दिनेछु । यसरी रु. २०० को टिकट काट्ने क्रममा धेरै रमाइला कुराहरु भएका छन् जसमध्ये आज भएको कुरा लेख्दैछु । आज खाजा खाइवरी जाँदा घडिले लगभग ५:१० हानिसकेको थियो, म दौडदै काउन्टरमा गएर भन “४ वटा टिकट दिनुस् न”े अनि काउन्टरको साथिले प्रश्न फाल्नु भयो “विद्यार्थी वाला टिकट त छैन अर्कै दिउँ?” मैले हाँस्दै जवाफ दिए “धन्दा नमान्नुस्, हामी विद्यार्थी जस्तो देखिए पनि हामी संग कार्ड छैन।” उत्तरमा मौन हाँसो संगै टिकट पाए र सबै भन्दा अगाडी पलेटि कसेर बस्दै चोर चरनदास संगै अन्य कलाकारको अभिनयलाई नजिकै बाट नियाल्यौं ।

नाटक सुरु हुनु पुर्व मण्डलाले टिकटको अर्ध कट्टि लाई गोला प्रथा गदै आफ्नो एक जना दर्शकलाई उपहार दिने गरेको स्किम जस्तै नाटक हेर्न जादाँ मेरा केहि साथिहरुको लागी र मण्डला थिएटरको लागी म संग पनि एउटा स्किम हुने गर्दछ । म हरेक चोटि नाटक हेर्न जादाँ सकेसम्म एक जना नाटक नहेरेको नयाँ साथि लिएर जाने प्रयास गर्छु र उक्त नयाँ साथिलाई म टिकट उपहार गर्छु अनि भन्छु “यो नाटक मन पर्यो र अर्को पटक नयाँ नाटक हेर्न आउन मन लाग्यो भने संगै आउला उनि मेरो लागी पनि टिकट लिइदिनु ।” तर आज कुरा अलिक फरक भयो, आज म संग गएका तिनै जना साथी मण्डलाको लागी नयाँ दर्शक थिए त्यसैले मैले उनीहरुलाई टिकट उपहार दिइन, हामी सबै मिलेर काट्यौ । 

आज भोली मलाई नाटकको नसा लागेको छ, नाटक र नाटक घर संग गहिरो प्रेममा परे जस्तै भएकी छु, सायद त्यसैले होला सिनेमा र सिनेमा हल संग मेरो बिछोड भएको छ, जसमा म निकै खुसि छु र सन्तुष्ट पनि । त्यसैले म कहिलेकाही मण्डलामा नयाँ नाटक हेर्न नपाउने वित्तिकै घरि “सर्वनाम” पुग्छु त घरि सिल्पि” । हुन त काठमाडौं लगायत नेपालका धेरै ठाउँमा धेरै नाटक घर हरु छन् तर विडम्वना ती नाटक घरहरुमा म अहिले सम्म पुग्न पाएको छैन । आशा छ आउँदा दिनहरुमा ती नाटकघरका नाटकहरु पनि अवश्य हेर्ने छु । जसरी  “नाटक” शब्द आफैमा “म” शब्द नभए जस्तै थिएटरमा मञ्चन हुने हरेक नाटक भित्र म छैन तर पनि म ति नाटकहरु नियाली रहेकी छु र रमाईरहेकी छु र आफुले आफ्नो तर्फबाट सकेसम्म नाटक को पैरवी गरिरहेकी छु । 

ओहो ! लेख्दा लेख्दै निकै पो भएछ । पढ्न बोर त लागेन नि ? यो पढ्न बोर लागेको भए तपाई मण्डला नाटक घर जानुस र “चरनदास चोर” हेर्नुस्, माँ कसम, तपाईलाई लगभग १ घण्टा ४० मिनेट सम्म कुनै बोर लाग्ने छैन, बरु हाँस्दा हाँस्दा थकाई चाहि लाग्न सक्छ है ।

Published on: Bichar Dabali