Showing posts with label power of thanks. Show all posts
Showing posts with label power of thanks. Show all posts

Thursday, November 10, 2011

भन्न नपाएको धन्यवाद...!


कसैले केहि कुरा भन्ने बित्तिकै मुसुक्क हाँसेर धन्यवाद भन्नु म आफुलाई नै यो मेरो विशेषता हो कि जस्तो लाग्ने गर्दछ । चाहे कसैले सल्लाह दियोस् या त कुनै गल्ति नै औल्याईदियोस् म उसलाई धन्यवाद भन्न सकेसम्म पछि पर्ने गर्दिन (चाहे भित्रै देखि खुसी भएर होस् या त देखावटी नै सहि) । यति हुँदाहुदै पनि साच्चैै भित्रि मनदेखि नै धन्यवाद दिन मन लागेको व्यक्तिलाई धन्यवाद भन्न नपाउँदाको पीडा भोग्ने व्यक्तिहरु सायदै होलान् तर म भने बिगत केहि दिनदेखि यो पीडा भोग्दै आएकी छु...बिर्सन्छु भन्छु तर कता कता मनमा एउटा नमिठो स्वाद बनेर बसेको छ जुन बेला बेलामा  सम्झनाको डकार बनेर आईदिन्छ अनि वातावरण नै नमिठो बनाईदिन्छ ।

झाडापखला जस्तो सामान्य रोगको प्रकोपबाट भईरहेको सयौको अकालको मृत्यु संगै त्यसको विरुद्धमा केहि गर्न भनि जोशजागरका साथ युवाहरु एकजुट भएका त्यो छोटो समयमा भएको भेटघाट र चिनापरिचयबाट अगाडी बडेको मित्रता । एउटा राम्रो उदेश्य र सामाजिक दायित्वको बिउ बोकेर छहारी दिने रुखको कल्पनामा बेलुकी ५ बजे पछि घण्टाघर पछाडीको चिया पसलमा बसेर ७ रुपैयाको चिया संगै गरिएका ७ करोडभन्दा पनि अमुल्य ती मेरा सिकाईहरु जसको धन्यवादका मुख्य पात्रहरु मध्येको एउटा पात्र.....नेतृत्व लिन र गरेको कामलाई लिखित रुपमा उर्तानको निम्ति दिईएको त्यो सुझाब तत्काल सुन्दा चित्त दुखेता पनि त्यसले मलाई आफ्नो व्यत्तित्व बिकासमा धेरै सहयोग गरेको छ । अमेरिका पुग्ने बित्तिकैको त्यो ईमेल जसमा मलाई “अलिक बोल्नु पर्यो” भनेर दिईएको सुझाब, हातमा गन्न सकिने गरी मात्र भएपनि हुने गरेका फेसबुकका च्याटहरु जसमा कहिले राजनितिक कराुहरु, कहिले उपयोग्ी त कहिले हावा कुराहरुमा हुने ती छलफल । फेसबुकको वालमा लेखिएका स्टाटस देखि ब्लगमा लेखिने कुराहरुको बारेमा टिकाटिप्पणी जुन सुन्दा रुखो लागेपनि वास्तबमानै उपयोगी थिए मेरा लागी । यी सबै कुराहरुको लागी पत्यक्ष रुपमा भेटेर नै भित्रै देखि खुसि व्यक्त गदै “धेरै धेरै धन्यवाद !”  भन्छु भन्ने सोचाईका साथ गरिएको प्रतिक्षा....।

यहि नोभेम्वर १ तारिकको मध्यान्न तिर सुन्नमा आएको एउटा अनौठो खबर जसलाई सुन्ने बित्तिकै आफुलाई अन्धकारमा रुमारलएको जस्तो अनुभव नगर्ने विरलै थिए होलान् । यो खबरले मेरो मनमा साचिएको त्यो श्रद्धापुर्ण धन्यवादलाई श्रद्धान्जलिमा परिवर्तन गर्नुपर्दाको क्षण...........। मेरो यो तितो भोगाई पश्चात म सबैलाई आग्रह गर्न चाहान्छु कि ‘धन्यवाद’ शब्द देख्दा मात्र एउटा शब्द हो तर यसमा अपार शक्ति छ भन्ने कुरा कहिल्यै नभुल्नु र राम्रो कुरालाई भन्न अनि गर्न कहिल्यै भोलि नभन्नु ।

अन्त्यमा, व्यक्तिसंग जोडिएको एउटा समुह जसमा अन्य धेरै सदस्यहरु (थिए र छन)् सम्पुर्णलाई जसले आजको मेरो यो पहिचान बनाउनमा भुमिका खेल्नुभएकोछ उहाँहरुलाई म भित्रैदेखि हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु र त्यो व्यक्ति जसलाई मैले साचेर राखेको यो धन्यवादको शब्दलाई यहि कम्युटरका किहरु र माइक्रोसफ्ट वर्डको सहायताले तिमि सामु व्यक्त गर्छु साथै आत्माको चिर शान्तिको लागी सदैव कामना गर्छु । हामी संग नभएपनि सधै हाम्रो माझमा रहनेछौ ।