यहाँ लेखिएका कुनै पनि कुरा काल्पनिक हैनन । त्यसैले पढ्दै गर्दा कहि कतै सुने सुने, भोगे भोगे जस्तो लाग्न सक्छ ।
ए, तिमिलाइ वाकवाकी लागेन?, छोरा हुन सक्छ । साच्चै, अमिलो पिरो खान मन लागेन?, छोरा छ । कस्तो ६ महिनासम्म पनि पेट नदेखिएको? छोरा नै हो ।बच्चा एक्दमै चल्छ? त्यसो भएत छोरा नै हुनुपर्छ ।उसले त निलो लुगामा फोटो खिचिछ, पक्कै छोरा छ । ओहो सपनामा फलफूल देखेको? त्यसो त छोरै हो ।
Lotusa's Diary
...On-line diary where you can read my feelings, experiences, Learning and other information..
Thursday, March 10, 2022
मनसिकता कि सत्यता ?
आदि इत्यादि सुन्दै मेरो ९ महिना बित्यो, अनि छोरी जन्मिइ । ल बधाइ छ, तर छोरि त कस्तो छोरा जस्तै रहिछिन ।
ए छोरी हो? म त छोरा सोचेको ।
बच्चाको लागि सामान किन्न गयो , खालि गुलाबि कि त निलो रङ्ग । निलो नै लैजौनु पर्यो भनि छान्यो, प्रश्न आउछ, छोरा हो?
उसको कपालले आखा छोप्यो भनि काटिदियौ । हिड्न सजिलो होस भनि पाइन्ट/टिसर्ट लागैदियौ ।चप्पल भन्दा जुत्ता सजिलो होला भनि जुत्ता रोज्यौ ।बाटोमा हिड्दा मान्छेहरु भन्छन, कति राम्रो बाबु । ओहो उसलाइ त कस्तो गाडि, भकुन्डो अनि प्लेन हरु मन पर्ने रहेछ । छोरा जस्तै है ?
यि सबै कुराहरु सुन्दै र भोग्दै गर्दा अचम्म लाग्छ । किन, कसले र कहिले देखि यसरि स-साना कुराहरुमा बिभेद ल्यायो ?
पुरातन बादि सोच भनु भने, गुलाबि र निलोको प्रचलन म सानो छदा त सुनेकै/देखेकै/भोगेकै थिइन ।बच्चामा त हामि दाजुभाइ सङ पनि भाडाकुडि खेल्ने गर्थ्यौ । तर, अहिले भाडाकुडि खेल्ने खेलौना किन छोरिलाइ मात्र दिएका?
बच्चा त बच्चा हो हजुर, उसलाई बच्चा जसरि नै व्यबहार गरौ । छोरा होस या छोरी, उसलाई सबै कुरा को अनुभव गराउ ।
रङ्गहरु त रङ्ग नै हो हजुर, उसलाई छोरा/छोरी या केटा/केटी को पहिचान नबनाउ । सन्तान त सन्तान नै हो नि हजुर; त छोरा, त छोरी, तैले यो गर्नु पर्छ, तैले यो गर्नु हुन्न भन्ने कुराहरु उसमाथि नलादौ । परिवर्तन समाजले ल्याओस भन्ने हैन हजुर, सुरुवात आफै बाट गरौ ।किनकि, तापाइ हामि मिलेर नै त समाज बन्ने हो । कि कसो हजुर?
#HappyInternationalWomensDay2022 #BreaktheBias #IWD2022
Monday, April 12, 2021
बर्ष सँगै समाज फेरियोस्...२०७८ साल को शुभकामना !!!
बर्षहरु धेरै फेरिए तर हाम्रो समाज फेरिएको छैन। छोरीहरुलाइ हेर्ने नजर फेरिएको छैन । छोरा नै सर्वेसर्वा भन्ने सोच फेरिएको छैन । पुरुषबादी परम्परा फेरिएको छैन । एउटा महिलाले अर्को महिलालाई गर्ने व्यबहार फेरिएको छैन । आफ्नो कर्तव्य भाडमा जावोस तर अधिकार खोज्ने निर्लज्ज बुद्धि फेरिएको छैन ।
२०७८ साल ले केही मात्रामा भए पनि हाम्रो समाजलाइ फेर्न सकोस । छोरीहरुलाई बलियो बनाउन सकोस । छोराको हैन सन्तानको महत्त्व बुझाओस । एक महिलाले अर्को महिलालाई सधै साथ र सम्मान दियोस । अधिकार खोज्नेहरुले अधिकार खोज्नु पूर्व कर्तब्य पनि पुरा गर्नु पर्छ भन्ने सिकाओस् ।
शुभकामना ती सबै हजुरबुबा-हजुरआमाहरुलाइ जसले नाति र नातिनिलाइ समान व्यबहार गरोस । शुभकामना ती सबै बा-आमाहरुलाइ जसले छोरा र छोरीलाइ समान अवसर र अधिकार प्रदान गरोस । शुभकामना ती हरेक काका-काकी/ठुलोबा-ठुलोआमा/फुपुहरु जसले भतीजा-भतीजी/भदा-भदीनी लाई एउटै व्यबहार गरोस । सुभकामना ती हरेक दाजु-भाउजू/ दिदिबहिनीहरुलाइ जसले आफ्नो अधिकार खोज्ने मात्र हैन कर्तव्य पनि पूरा गरोस ।
भन्नू, गर्नु र हुनु मा धेरै अन्तर छन । त्यसैले यो २०७८ सालमा सबैले कुनै पनि कुरा अरुलाइ भन्नू र सिकाउनु भन्दा पनि पहिले आफैले जानौ, बुझौं र आफ्नै घरमा लागू गरौँ । अरुको दु:ख्: र पीडामा हास्ने हैन आफुलाइ उसको ठाउमा राखेर बाँच्न सिकाओस् । २०७८ साल ले बर्ष फेर्ने मात्र हैन हाम्रो समाजलाइ पनि फेर्न सकोस् । सबैलाइ खुशी र स्वस्थ् बनाओस् । २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।
Tuesday, May 28, 2019
माता र डाक्टर दुबैले थाहा नपाएको महिनावारी
Published in Online khabar in 28th May 2019
महिनावारी दिवसको सबैमा शुभकामना ।
जब जब महिनावारी दिवस नजिकिन्छ, तब म
आफु महिनावारी भएको पहिलो वर्ष सम्झन्छु, अनि सोच्छु यसपाली त
यसको बारेमा लेख्छु । यसै भन्दा भन्दा बिगतका ५ वर्ष बित्यो (महिनावारी दिवस पहिलो
पटक २०१४ सालमा विश्वभर मनाइएको थियो) तर मैले कहिल्यै केहि लेखिन । यसपाली पनि मे
महिनाको २८ गते (अर्थात महिनावारी दिवस) नजिकिदै गर्दा त्यही पुरानो नलेखिएको अनि
माता र डाक्टर दुबैले थाहा पाउन नसकेको महिनावारीको बारेमा सबैलाई थाहा दिने
जमर्को गदैछु ।
मेरो अंकलको छोरी, म
भन्दा केहि वर्षले ठुली तर उ र म मिल्ने साथि थियौं । संगै पढ्ने अनि संगै खेल्ने
पनि । उ ६ कक्षामा पढ्दै गर्दा नै पहिलो पटक महिनावारी भएकी थिई, उसले
मलाई महिनवारी हुदा के हुन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने कुरा आफ्नो अनुभव
बताउने गरेकि थिइ, जसले गर्दा मलाई महिनावारी सामान्य हो भन्ने
लाग्न थालेको थियो तर संगै डर पनि लागेको थियो किनकि मैले देखेको थिए, उसलाइ
सात दिन सम्म मामाघरमा लगेर विद्यालय पनि जान नदिई लुकाएर राखिएको थियो । त्यसपछि
लगतै अर्को महिना पनि उ महिनावारी भई, अनि आन्टीहरुले कुरा
गर्नुभयो “‘ए उ त काशी नै गइन त, खासमा केहि महिना त काशी जानु पर्ने...” ।
प्राय किशोरीहरु पहिलो पटक महिनावारी भएपछि दोस्रो पटक हुदाँ केहि महिनाको
अन्तरालमा हुने गर्दो रहेछ जसलाई गाउँघरको भाषामा काशी गएको भनिदो रहेछ र यसलाई
सामान्य रुपमा लिईदो रहेछ ।
एक दिन हामी खेल्दै थियौं, उसले
मलाई भनि “‘ओइ म त हिजो राती उ भएछु है, थाहा नै पाइन, रातिभरी
त्यही खाटमै सुतेछु । हुन त ममिले भनेको, थाहा नपाईकन कसैलाई
छोइयो वा खाटमै सुतियो भने पनि खासै केहि फरक पदैन रे, थाहा
नपाएको कुरा केहि न केहि...।” जब म उ बाट महिनावारीको कुरा सुन्थे, तब ७
दिन लुक्नु पर्छ, अनि मेरो पढाइ छुट्छ भन्ने एक अनौठो डरले
मेरो मन सधै त्रसित हुन्थ्यो ।
कुरा लगभग डेढ दशक भन्दा अगाडीको हो, मलाई
याद भएसम्म त्यति बेला ८ कक्षाको जिल्ला स्तरिय परिक्षा सुरु हुन १ दिन मात्र
बाँकी थियो । म सु्न्तलाको रुखमुनी, गुन्द«ी
ओछ्याएर आफ्नै सुरमा पढ्दै थिए । मलाई अनौठौ अनुभव भइरहेको थियो, केहि
च्याप च्याप लागेजस्तो । जुकाले टोक्यो भनु भने, जुका लाग्ने समय पनि
थिएन, मनले शंका गर्यो, कतै महिनावारी भएको त हैन ? हतारिदै
चर्पि गए, जे शंका गरेको त्यही रहेछ, हो म
पहिलो पटक महिनावारी भएछु । डरले मेरो हात खुट्टा काप्न थाल्यो, कसलाई
भनु, के गरु भयो । भोलि देखिको जिल्ला स्तरिय परिक्षा, ७ दिन
लुक्नुपर्ने, ७ दिनमा आधा भन्दा बढि परिक्षा सकिन्छ, अनि म
फेल हुन्छु, आज सम्म फेल नभएको म, ओहो !
कस्तो लाज मर्दो हुन्छ होला, सबै साथिहरु छुट्छन्, म १
वर्ष पछाडी पर्छु, यी सबै कुराहरुले मेरो होस ठेगानमा थिएन ।
एक्कासी दिमागमा लाग्यो, कसैलाई भन्दिन, फेल
हुनु भन्दा त कसैलाई थाहा नदिएकै बेस, थाहा नपाएको कुरा
केहि न केहि । तर यता मन भने डराउदै थियो, फेरि पाप लाग्यो भने ? अन्तत
दिमागले जित्यो, फेल हुनु भन्दा बरु पाप नै लागोस ।
समय बित्दै गयो, आन्टिहरुले
भने जस्तै म काशी गए, अर्को महिना म महिनावारी भईन । एक्कासी
असारको महिनामा मलाई पहिलेको जस्तै महसुस भयो, हो म दोस्रो पटक
महिनावारी भए, तर परिवार र छिमेकीको लागी पहिलो पटक । यो
पाली ममिलाई सजिलै भनिदिए, “ममि म पन्छिए” ।
ममिले मलाई धन्सारमा लुकाउन लग्नु भयो । यो बेला न त मेरो पढाई नै छुट्यो न त
परिक्षा नै थियो, विद्यालयमा त वर्खे विदा थियो ।
गाउँघरको चलन अनुसार दोस्रो पटक पनि ५ दिन लुक्नु
पर्ने हुन्थ्यो । पढाई छुट्ने डरले मैले दोस्रो महिनावारी (परिवार र छिमेकीको
लागी) बारेमा फेरि नभन्ने निर्णय गरे । सबैले काशि गएको सोचे । धेरै समय नभनेर नै
बित्यो । खासै धेरै रगत नबगन्ने भएकोले होला मलाई व्यवस्थापन गर्न खासै गार्हृो
भएन, थोत्रा फालेका लुगाले
काम चलाइदिन्थे (जुन स्वास्थ्य र सरसफाईको हिसाबले गलत गरेको रहेछु) । यति लामो
समय सम्म पनि छोरी दोस्रो पटक महिनावारी नहँुदा ममिलाई निकै चिन्ता लागेछ, कतै बोक्सि पो लाग्यो कि । शनिवारको दिन मलाई ममिले
माताकोमा देखाउन लाने निर्णय गर्नु भयो । म निकै आत्तिए । अब माताले मैले ढाटेको
कुरा थाहा पायो भने, ममिले अनि अरुले मलाई
के सोच्लान्, के भन्लान्, के गर्लान् ? मुटुले ठाउँ छोडेको थियो ।
हाम्रो पालो आयो । घरबाट लगेको चामलमा पैसा राखेर
ममिले माताको अगाडी राखिदिदै, म लामो समय देखि महिनावारी नभएको कुरा ममिले मातालाई बेलि बिस्तार लागाउनु
भयो । म डरले ममिको छेउमा आँखा चिम्लिएर, दुई हात जोडेर नमस्कार गरेर बसेको थिए । चामल समात्दै माताले भनिन्
“‘यसलाई आँखा लागेको रहेछ, यो फुकेको चामल खानु ठिक हुन्छ...।”
मेरो डराएको मन अचानक हर्षित भयो, पुलुक्क आखाँ खोलेर मातालाई हेरे । मनमनै सोचे मातालाई त केहि थाहा हुदैन
रहेछ, मेरो आत्माविश्वास
बढ्यो तर माता प्रतिको आस्था भने पुरै घट्यो ।
केहि समयको तलमाथि हुन्थ्यो तर महिनावारी भने
हुन्थ्यो । सधै जस्तै नभनेर नै चलिरहेको थियो । यति लामो समयसम्म केहि नभनेकोले अब
कसरी भन्ने भनेर मलाई एक किसिमको असहज महसुस हुन थालेको थियो । नौ कक्षाको अन्तिम
परिक्षा सकिएपछि ममिले मलाई जचाउँनको लागी काठमाडौं लाने हुनु भयो । हामी
बानेश्वरको एभरेष्ट हस्पिटल गयौं । डाक्टरले त मैले ढाटेको कुरा पक्का थाहा पाउँछ
भन्नेमा म सत प्रतिशत ढुक्क थिए । ममिको गाली मस्त खाइने भयो भन्ने थियो । पहिले
जस्तै डरलाई लुकाएर डाक्टरको कक्षमा छिरे । डाक्टर केटि थिईन् । उनले मेरो नाडी
छामिन्, पे्रसर नापिन्, आखाँको कुना काप्चा हेरिन्, केटा साथि छ ? यौन सम्पर्क गर्नुभएको छ जस्ता प्रश्न गरिन् अनि ममिलाई भनिन् “‘आत्तिनु
पदैन, नानीलाई आइरनको कमि
भएको रहेछ, यो आईरनको झोल
लेखिदिएको छु, सबै खुवाउनुस्, अनि ठिक हुन्छ...” । डाक्टरले पनि मेरो महिनावारीको
बारेमा थाहा नपाएकोमा म निकै अचम्मित थिए । मनमनै विभिन्न कुरा खेलाउदै बुद्घनगर
फुपुको घरमा फर्कियौ र भोलि पल्ट घर ।
डाक्टरले दिएको आईरन मैले सबै खाएर सके, अर्को पटक महिनावारी हुँदा अरुबेला भन्दा धेरै रगत
बग्न थाल्यो, ती पुराना कपडाका
साना टुक्राले नधान्ने गरि । मैले महिनावारी भएको कुरा ममिलाई भने, ममिले डाक्टरलाई विश्वास गर्नुभयो अनि छोरीलाई केहि
भएको रहेनछ भनेर ढुक्क पनि हुनुभयो । मलाई भने माता र डाक्टर दुबैले थाहा नपाएको
मा अचम्म नै लागिरह्यो ।
महिनावारी दिवसको सबैमा शुभकामना ।
Tuesday, October 2, 2018
सुन सँग चोरिएका सुनौला भावना
सुनमा मलाई कहिल्यै ईच्छा जागेन तर हाम्रो परम्परा र
रितिरिवाजमा अरु बेला नलगाएपनि बिहेको
बेला लगाउनै पर्ने केही बिशेष गहनाहरु; मंगलसुत्र, कानमा लगाउने झुम्का, औठि, तिलहरि जस्ता कुराहरु कोही किनिएका थिए त कोही
नयाँ बेहुलिको मुख हेर्न आउने आफ्न्तहरुले उपहार स्वरुप दिएका । बिबहाको दिन त्यो पनि लगनको बेला बेहुलाले
बेहुलि लाइ लगाइदिएको मङलसुत्र सङ एउटी बेहुलिको भावना कति सम्म जोडिएको हुन्छ
भन्ने त त्यो बेहुलिले मात्र महसुस् गर्न सक्छे ।
यसै त किम्ति मानिने सुन् त्यस माथि भावना अनि सम्बन्धहरु
गासिएका भर्खर् १ बर्स पुगेको । जम्मा जम्मि ४ पटक लागए होला, रहर् पनि नपुगेका कुरा हरु छर्लङ उज्यालो दिन
त्यो पनि मध्यान्नको १२ / १ बजे को समयमा राजधानिको
जावालाखेल् जस्तो ठाउबाट् चाबि फुटाएर चोरेर लगेपछि त्यसको पिडा कस्तो हुन्छ भनि
सायदै कसैले अन्दाज लगाउन सक्ला । चोरीएका समानहरुको मुल्य निर्धारण गर्दा ३/४ लाखमा देखिएपनि
त्यो सङ जोडिएका मेरा भावनाहरु करोडौ तिर्दा पनि किन्न नसकिने थिए ।
चोरीएकै हो भन्ने आफुमा पुष्ट
हुने बित्तिक कै १०० मा फोन गरे । फोन सानेपा प्रहरि कार्यालयको महिला प्रहरिले उठाउनु भयो र
खबर गरेको १० मिनेटमा महिला प्रहरिको अगुवाइमा सानेपा प्रहरि म बस्दै गरेको घरमा
पुगे । येसो यताउता हेरे,
घटनाको बारे सोधपुछ गरे
अनि गए । त्यहि टोलिको निर्देशनमा करिब् १५ मिनेट जतिमा अपराध अनुसन्धानका टोलि
जावालाखेल् प्रहरि कार्यलयबाट् आइ कागजातहरु सम्बन्धि कामहरु गरि मुचुल्का उठाइवरि
भोलि बिहान कार्यलय समयमा आइ निवेदन् जारि गर्न सल्लाह् दिए । यि सबै गतिबिधि
सकिदा रातको लगभग ९ बज्न लागेको थियो । यि सबै प्रकृया देख्दा मलाइ नेपाल् प्रहरि
प्रति साच्चैनै गर्व महसुस भयो ।
मेरो साधारण बुझाईले
हेर्दा चोर वरीपरी सबैकुरा थाहा भइ राखेकै मान्छे हुनुपर्छ जस्तो लाग्छ ।
त्यसैले मनमा आशा लागेको थियो मैले अधिकारिक रुपमा लिखित निबेदन दिएपछि प्रहरिको
टोलिले म बस्ने घरको छिमेकका मानिसहरुलाइ पनि यो घटना को बारे सोधपुछ गर्ने छ । केहि
जानकारि आए धेरै राम्रो न आएपनि कम्तिमा मा सबै सचेत् हुनेछन् र भबिस्य मा यो
बस्ति वरिपरि यस्ता घट्ना दोहोरिने छैनन् भन्ने लागेको थियो । तर मेरो आशा अनि भरोसा को पनि चोरि भयो ।
"ल निबेदन् लेख्नुस् अनि फलानो नम्बरको कोठामामा छोडिदिनुस् ।" जब सक्कल्
निबेदनको प्रति ति जवानले लिए तब आफ्नो सहकर्मि लाइ भने " ए भाइ ल यो निबेदन्
फलनो फाइलमा राखिदे" अनि म तिर हेरि भने "अब तपाइ जान सक्नु हुन्छ
।" त्यो भनाइले मेरा आशा अनि भरोसा हरु नभेटिने गरी प्रहरि कार्यलय भित्रै चोरि भए । त्यहि पनि केहि
झिनो आशा लिइ सोधे " केहि होला कि
नहोला?"
केहि झर्किलो आवाजमा मेरो
जिग्यासाको उत्तर आयो "तपाइ कुरालाइ चाहि सकारात्मक लिनुस्" ।
हुन त दैनिक करोडौको चोरि जफतिको घटना दर्ता हुने प्रहरि
कार्यलय अनि दैनिक् यस्ता घटनाहरु देख्दै आएका प्रहरिहरुको लागि मेरो चोरि भएका
सामानको मुल्य कम् लाग्नु स्वभाबिकनै हो । तर मेरो लागि त्यो सुनको मुल्य भन्दा पनि त्यो सङ जोडिएका मेरा
सुनौला भावनाहरु कति बहुमुल्य छन् भन्ने कुरा न मैले उनिहरुलाइ बुझाउन सके न त
उनिहरु (चोर् पुलिस् दुबैले) नै बुझ्न सके ।
यती का बाबजुत पनि नेपाल प्रहरिका अनुसन्धान टोलिले सुक्ष्म तवरमा अनुसन्धान गरी सम्बन्धित अपराधीहरुलाइ पक्राउ गर्न सक्षम छन् भन्ने झिनो आशा र भरोसा अझै बाकि नै छ ।
यती का बाबजुत पनि नेपाल प्रहरिका अनुसन्धान टोलिले सुक्ष्म तवरमा अनुसन्धान गरी सम्बन्धित अपराधीहरुलाइ पक्राउ गर्न सक्षम छन् भन्ने झिनो आशा र भरोसा अझै बाकि नै छ ।
Friday, August 4, 2017
Street Story: 1 "प्रश्नले भरिएको कथा"
कार्यलय बाट घर फर्कने क्रममा थिए । पाटन दरबारको बाटो, विभिन्न उमेर समुहका मान्छेहरु, स्वदेशी÷विदेशी, बेलुकी पख साथि अनी परिवार सङ्क सत्भाव साटिराखेका दृश्यहरुको मजा लिदै हिड्दै बालकुमारी तिर आउने बाटो तर्फ लम्किदै थिए । अलिक अगाडी आएपछि एकजना लाई फोन गर्नु पर्ने कुरा दिमागमा आयो । उसको फोन मैल उठाएन पाई राखेको थिइन । फोन गदै आफ्नो बाटो हिड्दै थिए, बाइक अनि त्यो भित्री बाटोमा चल्ने ट्याकटरको आवाजले फोनमा उताबाट बोलिएको कुरा ठम्याउन गाहृो भयो । यति बेला म भोलढोका नजिकको पिपलको बोट नजिक उगेको थिए । त्यहि पिपल बोटको फेदमा रोकिएर फोनको गफ सकाए । फोन राखी वरी हिड्न लागेको थिए, मेरो आखा त्यही पिपल बोटको फेदमा मकै पाल्दै गरेकी एक महिलामा पर्न गयो ।
स्टीलको थालमा ४ घोगा पोलेको मकै, आगो निभ्ला अनी कोइला सकिएला भन्ने पिरले च्यातिएको कार्टुनको टुक्राले आगोलाई हम्किदै गरेकी, हातमा राता चुरा, रातै चोलो, करिब १५–२० लुमको रातै पोते, निधारको भृकुटी छोपिने गरी लगाएको रातो टीका, सिउँदोको केहि भाग मात्र छुने गरि लगाइएको रातै सिन्दूर । मनमा पालेको मकै लिएर खादै हिड्नु पर्यो भन्ने लाग्यो अनि भने “आमा एउटा मिठो मकै दिनुस न” उहाले दिनु भयो । मकै लिदै मैले साधे “आमा मकै मिठो छ त ?” उहाँले मुख खोल्नु भयो “यो छेउ बाट अलिकति निकालेर चाख्नुस, मिठो नभए अर्को पोलिदिन्छु ।” आमाले भने जस्तै छेउ बाट अलिकति निकालेर चाखे, मिठै लाग्यो । मकै लिएर खादै जाने सोच बनाएको म, त्यो सोचलाई परिवर्तन गरी ती अमा संग एकछिन गफ गर्न मन लाग्यो ।
छेउमा रहेको बोरा तान्दै भने “आमा यसमा बसौ एकछिन ?” उहाले हल्का मुस्काउदै भन्नु भयो “भैहाल्छ नि, बस्नुस” । एउटा हातमा मकै लिदै अर्को हातले झोलालाई आफु बसेको बोरामा राखी रु.३० झोलाबाट निकालेर ती आमालाई दिदै सोधे “आमाको घर चाहि यतै हो ? उहाँले अर्को हरियो मकैलाई आगोमा राख्दै भन्नु भयो “का हुनु नानी, टाढा छ ओखलढुगा ।” म बोरा माथी पलेटी कसेर बस्दै उहाको थप अरु कुरा सुनिरहे । उहाँ भन्दै हुनुहुन्थ्यो “आमाको उपचारको लागी काठमाडौं आएको १५ वर्ष जति भईसक्यो । मुटु रागी हुनुहुन्छ, बेला बेला अस्पताल गइ राख्नुपर्छ त्यसैले यतै बस्छौ ।” उहाँ अझ आगाडी थप्नु हुन्छ “हाम्रो सबै दिदी बहिनी यतै छौ, दिदीले जग्गा किनिकी अब छिटै घर बनाउछन्, बहिनीहरु कोही जागीर खान्छन्, राम्रो छ सबैको ।” मैलै सोधे “सबै जना सङ्गै बस्नुहुन्छ ?” उहाले हास्दै भन्नुभयो का बस्नु उनीहरुको बिहे भइसक्यो ।” अनि हजुरसंग जाही को को हुनुन्छ भन्ने मेरो प्रश्नमा उहाले आफ्नी ८० वर्षकी आमा र उहाँ मात्र भएको बताउनु भयो । ५ दिदि बहिनी अनी २ दाजुभाईको परिवारमा हुकेकी, घरकी महिली सन्तान, ५७ वर्षिया ति आमाले भनेअनुसार भाइहरुले बा आमा लाई हेलागरेको कारण आफुले बा आमा दुबैलाई लिएर काडमाडौ आउनु भएको रहेछ । दमको व्यथाले ३ वर्ष अगि बाको मृत्यु भएपछि आमा छोरी मात्रै बस्दै आएका रहेछनर । “बा मेरै काखमा जानुभयो, सेवा गर्न पाए खुसी लाग्छ ।” उहाँले यसो भन्दै गर्दा मैले बिच्चामा प्वाक्क सोधे “अनि हजुरको छोरा छोरी...?” मेरो प्रश्न पुरा नहुदै उहाँले उत्तर दिनुभयो “छोराछोरी छैनन्, मैले बिहे नै गरेको छैन” । उहाँले यसो भन्दै गर्दा मेरो मनमा अर्को प्रश्न आइसकेको थियो “त्यसो भए किन चुरा, पोते,टिका अनि सिन्दुर लगाउनु भएकोे त ?” तर यो प्रश्नलाई मैले चपाएको मकै संगै भित्रै निलिदिए चब अर्को प्रश्न गरे “हजुरलाई कुनै कारणले गर्दा विहे गर्ने मन लागेन कि अरु नै केहि...? उहाले आन्नदको भावले मलाई हेर्नु भयो अनि भन्नु भयो “हा नानी त्यो अर्काको घर गएर अरुको लुगा धुने, उनीहरुको चाकरी गर्ने, उल्टै उनीहरुको गाली गौलज आनि पिटाई खानु भन्दा त यही जिन्दगी आन्नद ।”
यस्तै धेरै कुराहरु भए । उहाले मेरो बारे पनि सोध्नु भयो । घर गोरखा भन्दा निकै खुसी हुनु भयो र आफु पनि सात वर्ष गोरखा सदरमुकामको सतिपिपलमा बसेर जागिर खाएको बताउनु भयो । त्यही जागिरले आफ्ना बहिनीहरुलाई पढाएको, अनि जागीरकै सिलसिलामा नेपालका धेरै जिल्लाहरु घुमेको अनुभव सारै आन्नद मनले सुनाउनु भयो । उहाँको कुरा सुन्दै गर्दा मेरो मनमा केहि जिज्ञासा, केहि विचार अनि केहि चिन्नत हरुले दोहोरी खेल्न थाले । कुरा गदै गर्दा आमाकोमा मकै खाने मान्छेहरु बढ्न थाले अनि अब यहाबाट जानु पर्छ भन्ने निष्कर्षमा पुगे । अन्तिममा, “आमा फोटो खिचौ तपाइसंग” भनेको उहाँले “नानी आज लुगा राम्रो लगाको छैन, कृष्ण अष्टमीको दिन यता तिर आउनु, म साडि लगाएर बस्छु अनि खिचौला नी है” भन्दै मज्जाले हास्नु भयो । म पनि हुन्छ भन्दै हास्दै आफ्नो बाटो लागे ।
त्याहाँबाट निस्किए पनि मेरो मन भने तिनै आमाको कुरामा नै घुमिरहृयो । मुख्य त तिनवटा कुरामाः
१. उहाँको भाइहरुले किन बाआमालाई नहेरेको होला जबकी आम्रो समाज छोरा बुढेसकालको साहारा हो कम्तिमा एउटा छोरा हुनै पर्छ भन्दै छोरा जन्माउने प्रयास गरिरहन्छ । सायद उहाँको बाआमाको पनि त्यस्तै थियो होला ।
२. उहाँले बिहेको बारेमा किन त्यसरी भन्नु भएको होला कतै उहाँले हाम्रो समाजमा भएको बुहारी÷श्रीमति हरुलाई परिवारको सदस्य भन्दा पनि काम गर्ने व्यक्तिको रुपमा हेरिने चलनलाई नजिकबाट नियाल्ने मौका पाउनु भएको थियो कि ? ना उहाँकै घर छिमेक, आमा, दिदी, बुहारी आदी नै यो बाट पीडित पो हुनुहुन्थ्यो कि ?
३. उहाँले बिहे नगरे पनि किन हातभरि रातो चुरा, रातै पोते, रातो टिका अनि रातै सिन्दुर लगाउनु भएकोे होला ? कतै समाजले बारम्बार केटि मान्छे, किन बिहे नगरी बसेको भन्ने प्रश्न साधेर उहाँलाई हैरान पारेर पो हो की ? आदी इत्यादी ।
प्रश्नै प्रश्नमा यो लेख्न थाले कतै उत्तर भेटिएला कि भन्ने आशमा तर झन प्रश्नहरु एकपछि अर्को गर्दै थपिन थाले अनि मैले यो उत्तर बिनाको लेखलाइ यहि रोक्ने निधो गरे ।
Monday, July 31, 2017
Whom I prefer to work with?
With the experiences that I have till date (this experience
counts from the age when I started to feel & understand what people react
& say), I can claim that there are 3 types of people with whom we are
seeking help and support in any particular area;
1. People who have no knowledge in that
area,
2. People who have little knowledge in
that area &
3. People who have in-depth knowledge in
that area.
Out of these three types of people, I am sure that you will
only get help and support from 2 types of people. Guess who are they? I don’t
know what you are guessing but I can claim with my experiences till date that; you can easily get help and support from people that I mentioned in no.1
& no. 3. Yes, I mean to say that you can only get support & help easily from people who have no knowledge and the people who have in-depth knowledge in particular area where you are seeking their help & support. You may ask how? Don’t worry I will explain
my thoughts on it.
People who have no knowledge, usually show their eagerness
to help and support you because they know that they will get chance to learn
from you along with helping you. In Nepali we can say “dubai haat ma laddu”
that means win-win situation. People who have in-depth knowledge, they are
always ready to help & support you because they believe that their
knowledge as well as the horizon of particular thing and/or area will increase once
they share with others. Believe, me this type of people always want to see that
the area they have in-depth knowledge is growing and they are ready to support
& help us, so that we are also contributing to build up the particular
area/field. This is also another win-win situation. Now, let’s discuss about
the people that I mentioned in no.2. Yes, you are right. I want to share my
thoughts about people who have little knowledge in the area where you are in
need of their support and help. There is a saying that “little knowledge is
dangerous” and I can say that always be careful with people who have little
knowledge. This kind of people always claim that they know everything and if
you notice, most of the people belongs to this category have higher ego and
negative attitude. They want to show others that they are helping and
supporting you but in reality they are delaying your task and dragging you
down. With this, they want to prove that you are wrong and they are right, you
don’t have that capacity and they have that.
It’s very easy to work with people that I mentioned in no.1
& no. 3. Also, once you work with those 2 types of people you can achieve
your objectives and show the results without any failure. Everyone prefers this
right? Yes, it’s true, no one wants to be a failure, and even I want to get
success in each and every thing only with one time effort. Do you think, it’s
possible & practical? May be its very rare to have this kind of situation,
right? Yes, I agree with you. I have heard different quotes about failure and
the one I liked most is “failure is not the opposite of success, it’s part
of success”. I believe that, only those person can get success who have
failed in their past. Remember, to fail, you have to seek the help from
those people who have little knowledge. Working with people who have little
knowledge, always challenges you. Once you accept that challenge, you can use
your creativity with what you can also challenge those people. Then with that,
you will strengthen your capacity to perform better in future.
You know what? In this 21st century, it’s very
difficult to find people who fall under category 1 & 3 because with this
rapid technological development, everybody have little knowledge in everything.
Even if they don’t have the knowledge in that particular time, they can have it
once they search that in google.com. Likewise, it’s very difficult to have
people, who have in-depth knowledge because this rapid development is challenging
people with new innovation and new development in the sector almost on daily
basis. That means, we have to work with people who have little knowledge and off-course need to seek help from the same. I am never afraid to be a failure, because I
wanted to be successful and definitely, I prefer to work with people who have
little knowledge.
Saturday, July 26, 2014
नाटकमा नभएको म
लेखु कि नलेखु? ह्या के लेख्नु । हैन हैन लेख्छु । ह्या होस् लेख्दिन होला सायद । आज “चरनदास चोर” हेरेर फर्कदै गर्दा नेपाल यातायात को भिडमा हराएको मेरो सोच । नाटक सुरु हुनु पूर्व एक जना प्रश्तोताले नाटक घर भित्र पालना गर्नुपर्ने नियमहरु भन्दै जाँदा उनी भन्छन् “नाटक चलिरहेको बेला एक आपसमा हल्ला गर्न पाईने छैन, यदि ईर्मजेन्सिमा हल्ला गर्नु परे छेउको साथिले नसुन्ने गरी गर्नुहोला”, नाटक को नियमलाई मैले नेपाल यातायातमा पनि पालना गरे । माथिको कुरामा छेउको साथिले पनि नसुन्ने गरी मन मनै हल्ला गर्न थाले, “कि आज घर गएर नाटकको बारेमा केहि लेखु वा नलेखु ?” यक्तिकैमा एउटा साथिको फोन आयो र उसंग नाटकको बारेमा कुरा गर्दै गर्दा आजको नाटकमा चरनदासले आबेगमा आएर गरेका विभिन्न ४ प्रणहरु जस्तै गरी मैले पनि उक्त साथि संग फ्याट्टै भनिदिए “म आज केहि लेख्छु ।” अब चरनदास बाट सिकेको पाठको पालना त गनैृ पर्या,े त्यसैले आफ्नो प्रण पुरा गर्न घर पुगेर खाना खाने वित्तिकै लेख्न थाले “नाटकमा नभएको म” । नाटकमा भन्ने गरेजस्त;ै यो लेख पढेर तपाईलाइ राम्रो लाग्यो भने अरुलाई पनि पढ्न भनिदिनु होला र यदि राम्रो लागेन भने मलाई भक्कुमार गालि गर्नुहोला या सुझाब दिनुहोला । अब सुरु गर्छु “नाटकमा नभएको म”..........
गुरुकुल बन्द भएपछि नाटक हेर्न नपाएर भौतारिएको म केहि समय पहिले मण्डलामा पुगे जतिबेला त्यहाँ “सुनकेशरी” नामक नाटक लागी रहेको थियो, त्यो दिन बाट मण्डला तर्फ सुरु भएको मेरो यात्रा आज सम्म पनि जारी छ । मेरो सम्झना शक्तिले भ्याएसम्म मलाई लाग्छ मैले आजसम्म मण्डलाको कुनै पनि नाटक छुटाएको छैन । किनकी मैले मण्डलाका नाटकमा गुरुकुलको स्वाद पाएको छु र राजन खतिवडामा सुनिल पोखरेल । पत्याउनु भएन ? चरनदासले झुटो नबोले जस्तै मैले पनि झुटो बालेको हैन । हो एउटा छुटाएको थिए, त्यो थियो “चरनदास चोर” । हो पहिलो पटक यो नाटक मञ्चन हुँदा म कामको सिलसिलामा काठमाण्डौ बाहिर भएकोले छुटेको थियो तर आज त्यो पनि हेरियो र चरनदानसले “हो मैले सुनको सिक्का चोरेको हो तर १० वटा हैन, ५ वटा” भने जस्तै गरि म पनि भन्छु “ हो मैले आजसम्म मण्डलाको कुनै पनि नाटक छुटाएको छैन ।”
आज चरनदासका प्रणहरु सुन्दै र हेर्दै गर्दा मलाई पनि मैले गरेको एउटा प्रणको याद आयो जुन मैले मण्डलामा पहिलो नाटक “सुनकेशरी” हेर्दा गरेको थिए । त्यो दिन सम्झदा मलाई आज पनि नरमाईलो लाग्छ । त्यतिबेला म कलेजको विद्यार्थी नै भएकोले म संग विद्यार्थी कार्ड थियो र छुट लिएर मैले रु. १०० को टिकट काटे र नाटक घरमा छिरे । नाटक घर भित्र हामि त्यस्तै १६–१७ जना थियौ नाटक सुरु भयो र सकियो पनि । अन्तिम मा सबै कलाकारहरु मञ्चमा देखिए, मैले यसो गने, कलाकारहरु १२–१३ जनाको हाराहारीमा थिए । यसले मलाई साह्रै नरमाईलो लाग्यो र मैले प्रण गरे “अब देखि म कार्ड भएपनि रु.२०० को टिकट काट्ने छु” र आजसम्म त्यो प्रण पुरा गरिरहेकी छु र जसरी चरनदासले आफ्नो अन्तिम सास रहुन जेल सम्म पनि आफ्नो प्रण त्यागेन आशा छ म पनि मेरो प्रणलाई निरन्तरता दिनेछु । यसरी रु. २०० को टिकट काट्ने क्रममा धेरै रमाइला कुराहरु भएका छन् जसमध्ये आज भएको कुरा लेख्दैछु । आज खाजा खाइवरी जाँदा घडिले लगभग ५:१० हानिसकेको थियो, म दौडदै काउन्टरमा गएर भन “४ वटा टिकट दिनुस् न”े अनि काउन्टरको साथिले प्रश्न फाल्नु भयो “विद्यार्थी वाला टिकट त छैन अर्कै दिउँ?” मैले हाँस्दै जवाफ दिए “धन्दा नमान्नुस्, हामी विद्यार्थी जस्तो देखिए पनि हामी संग कार्ड छैन।” उत्तरमा मौन हाँसो संगै टिकट पाए र सबै भन्दा अगाडी पलेटि कसेर बस्दै चोर चरनदास संगै अन्य कलाकारको अभिनयलाई नजिकै बाट नियाल्यौं ।
नाटक सुरु हुनु पुर्व मण्डलाले टिकटको अर्ध कट्टि लाई गोला प्रथा गदै आफ्नो एक जना दर्शकलाई उपहार दिने गरेको स्किम जस्तै नाटक हेर्न जादाँ मेरा केहि साथिहरुको लागी र मण्डला थिएटरको लागी म संग पनि एउटा स्किम हुने गर्दछ । म हरेक चोटि नाटक हेर्न जादाँ सकेसम्म एक जना नाटक नहेरेको नयाँ साथि लिएर जाने प्रयास गर्छु र उक्त नयाँ साथिलाई म टिकट उपहार गर्छु अनि भन्छु “यो नाटक मन पर्यो र अर्को पटक नयाँ नाटक हेर्न आउन मन लाग्यो भने संगै आउला उनि मेरो लागी पनि टिकट लिइदिनु ।” तर आज कुरा अलिक फरक भयो, आज म संग गएका तिनै जना साथी मण्डलाको लागी नयाँ दर्शक थिए त्यसैले मैले उनीहरुलाई टिकट उपहार दिइन, हामी सबै मिलेर काट्यौ ।
आज भोली मलाई नाटकको नसा लागेको छ, नाटक र नाटक घर संग गहिरो प्रेममा परे जस्तै भएकी छु, सायद त्यसैले होला सिनेमा र सिनेमा हल संग मेरो बिछोड भएको छ, जसमा म निकै खुसि छु र सन्तुष्ट पनि । त्यसैले म कहिलेकाही मण्डलामा नयाँ नाटक हेर्न नपाउने वित्तिकै घरि “सर्वनाम” पुग्छु त घरि सिल्पि” । हुन त काठमाडौं लगायत नेपालका धेरै ठाउँमा धेरै नाटक घर हरु छन् तर विडम्वना ती नाटक घरहरुमा म अहिले सम्म पुग्न पाएको छैन । आशा छ आउँदा दिनहरुमा ती नाटकघरका नाटकहरु पनि अवश्य हेर्ने छु । जसरी “नाटक” शब्द आफैमा “म” शब्द नभए जस्तै थिएटरमा मञ्चन हुने हरेक नाटक भित्र म छैन तर पनि म ति नाटकहरु नियाली रहेकी छु र रमाईरहेकी छु र आफुले आफ्नो तर्फबाट सकेसम्म नाटक को पैरवी गरिरहेकी छु ।
ओहो ! लेख्दा लेख्दै निकै पो भएछ । पढ्न बोर त लागेन नि ? यो पढ्न बोर लागेको भए तपाई मण्डला नाटक घर जानुस र “चरनदास चोर” हेर्नुस्, माँ कसम, तपाईलाई लगभग १ घण्टा ४० मिनेट सम्म कुनै बोर लाग्ने छैन, बरु हाँस्दा हाँस्दा थकाई चाहि लाग्न सक्छ है ।
Published on: Bichar Dabali
Published on: Bichar Dabali
Subscribe to:
Posts (Atom)