Thursday, April 17, 2014

नमुना सिमजुङ्गका कुरा

सिमजुङ्ग गा.बि.स. गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सानो गा.बि.स. हो जुन गोरखा सदरमुकामबाट लगभग ४५ कि.मि. को दुरीमा रहेको छ । राष्ट्रिय सरसफाइ अभियान र जिल्लास्तरीय सरसफाई अभियानलाई आत्मासाथ गर्दै सिमजुङ्गले पनि आफ्नो अभियानलाई निरन्तरता दिदैआईरहको अवस्था छ ।  यसै सिलसिलामा सिमजुङ्गबासीले यहि २०७० साल मंसिर २८ गतेका दिन आफ्नो गाउँलाई जिल्लाकै १९औं खुला दिसा मुक्त गा.बि.स.को रुपमा स्थापित गर्न सके जुन कुरालाई गा.बि.स. सचिव लगायत गाउँलेहरुले आफ्नो भनाई मार्फत पुष्टि गर्दै थिए भने गाउँ वरिपरि देखिएका विभिन्न बोर्डहरुले पनि त्यसलाई प्रमाणित गरिरहेका थिए । 
नेपालले सन् २०१७ सम्ममा एक घर एक चर्पिको लक्ष्य राखी उक्त अवधिसम्ममा राष्ट्रलाई नै खुला दिसा मुक्त बनाउने अभियानलाई गोरखा जिल्लाले सन् २०१४ सम्ममा जिल्लालाई नै खुला दिसा मुक्त गरी साथ दिने लक्ष्य राखेको छ भने सिमजुङ्गले आफ्नो बाचा केहि महिना अघिनै पुरा गरिसकेको छ ।  

गा.बि.स. सचिवका अनुसार सिमजुङ्ग गा.बि.स. लाई बि.सं.२०५२ सालमा नै जिल्ला बिकास कार्यलयले नमुना गा.बि.स.को रुपमा स्थापित गरेको रहेछ । उक्त बिषयमा सिमजुङ्गका गा.बि.स. सचिब  शेखरनाथ न्यौपानेले आफ्ना कुरा हामीसंग राख्दै भने “नमुना गा.बि.स. भएकोमा हामी अत्यन्तै खुसी थियौ तरपनि के साँच्चै हाम्रो गा.बि.स. नमुना नै छ त भन्ने प्रश्न हामीमा उठिरहन्थ्यो, जसले गर्दा हामीमा अझ धेरै गर्नु बाँकी छ भन्ने कुराको महसुस हुनुका साथै सहयोगी हातहरुको पनि अभाव महसुस हुन्थ्यो ।” उनी अघि थप्छन्  “हाम्रो उक्त अभावलाई द मनोज एसोसिएसन, नेपाल रेडक्रस, नेपाल स्वास्थ्यका लागी पानी (नेवा) लगायतका संस्थाहरुले पुरा गरिदिएका छन् ।” न्यौपानेका अनुसार यी संस्थाहरुले गर्दा गाउँमा सरसफाइ र स्वच्छताको अभियानलाइ तिब्र गतिमा लान निकै सहयोग पुगेको पाईयो । 
सिमजुङ्गबाट सिक्नुपर्ने कुराहरुः

१. खु.दि.मु.क्षे. घोषणा पश्चातः
कतिपय जिल्ला तथा गा.बि.स. हरुले खुला दिसा मुक्त क्षेत्र घोषणा पश्चात सरसफाइको अभियानलाई खासै निरन्तरता नदिएको पाईएको छ । अहिलेको अवस्थामा खुला दिसा मुक्त क्षेत्र (खु.दि.मु.क्षे.) घोषणा मात्र ठुलो कुरा नभई सरसफाइलाई कसरी निरन्तर दिने भन्नका लागी खु.दि.मु.क्षे. घोषणा पश्चातका लागी छुटै रणनितिको आवश्यकता रहेको र उक्त रणनीति गा.बि.स. स्तरीय खानेपानी, सरसफाइ  तथा स्वच्छता समन्वय समितिको अगुवाईमा बनिसकेको कुरा समितिका अध्यक्ष शेखरनाथ न्यौपानेले जानकारी दिनुभयो । जस अन्र्तगत निम्न कुराहरु समावेस गरिएका छन्ः 
  • गाउँमा रहेका खानेपानीका धाराहरुमा मिटर जडान प्रकृया अगाडी बढाउने ।
  • सार्वजनिक शौचालयको प्रयोग र उचित व्यवस्थापनमा जोड दिने ।
  • सरोकार पक्षहरु विच समन्वय कायम राख्ने ।
  • खुला ठाउँमा दिसा गर्नेलाई रु. १०० जरिवाना तिराउने साथै सुचना प्रदान गर्नेलाई रु. ५० पुरस्कार प्रदान गर्ने ।
  • नयाँ घर बनाउनु पूर्व चर्पि अनिवार्य रुपमा बनाउनु पर्ने ।
  • सरसफाई परिचय पत्र लिएर आउनेलाई मात्र प्रशासनिका कायृहरुमा सिफारिस गर्ने ।
  • प्रत्येक विद्यालयको प्राथना सभामा सरसफाइका कुरा अनिवार्य गराउने ।कुनै सार्वजनिक समारोह तथा कार्यक्रम हुने स्थानमा अस्थाइ शौचालय निर्माण गरी प्रयोग गर्ने र प्रयोग पश्चात सुरक्षित रुपमा व्यवस्थापन गर्ने ।
  • हरेक वर्ष विभिन्न कार्यक्रम गरी सरसफाइ सप्ताह मनाउने र उक्त कार्यक्रममा नै सरसफाइमा उत्कृष्ट ३ घर साथै १ समुदायलाई पुरस्कारको व्यवस्था गर्ने ।
  • खोला खोल्सामा फोहोर फाल्न अन्त्य गर्ने ।
  • मरे–सडेगलेका बस्तुहरुको उचित व्यवस्थापन गर्ने ।
  • सामाजिक बधशालाको निर्माण गर्ने ।
  • शौचालयको सरसफाइमा नियमित ध्यान पुर्याउन् भनि नियमित रुपमा एकअर्काको शौचालय अनुगमन गर्ने ।
  • सुरक्षित पानीको सहज व्यवस्थापनको लागी नेवासंग पहल गर्ने । आदी

२. सार्वजनिक शौचालय
शहरी क्षेत्र जहाँ सार्वजनिक शौचालयको अत्याधिक आवश्यकता छ तर पनि ती क्षेत्रहरुमा सार्वजनिक शौचालय कमै भेटिन्छन्, भेटिएपनि प्रयोग योग्य हुँदैनन् तर सिमजुङ्गमा भने ५ वटा सार्वजनिक शौचालयहरु देख्न पाईन्छन्, जसमा २ वटा प्रयोगमा आईसकेका छन् भने ३ वटा बन्दै गरेको अवस्थामा छन् ।
“सबैको घरमा त चर्पि छ तर बाटो हिड्ने मानिसलाई पनि त दिसा पिसाब गर्न मन लाग्छ । यो सार्वजनिक चर्पिले बाटो हिड्नेलाई निकै राम्रो भएको छ । त्यति मात्र कहाँ हो र, हामी आफु घाँस, दाउराका लागी निस्कदा पनि बाटैमा शौचालय भएकोले धेरै सजिलो भएको छ ।”  सिमजुङ्ग–७, गोगनपानी की स्थानीय ईश्वरी गुरुङले खुसी हुदै भनिन् । गुरुङ स्थानीय “सातकन्या महिला समुह” की अध्यक्ष पनि हुन् । उनीहरुकै समुहले वर्षमा रु.१००० दिएर एक जना स्थानीय महिलालाई उक्त सार्वजनिक शौचालयको हेरचाहका लागी खटाउने गरेको गुरुङको भनाई छ ।

३. सरसफाइमा किशोरीहरुको अग्रसरता
आधा आकास ढाकेका महिला, त्यसमाथि जोश र जागरले भरिपूर्ण किशोरीहरु अनि उनीहरुको सरसफाइमा अग्रसरता साँच्चै प्रशंसनिय रहेछ सिमजुङ्गमा । महिला बिकास कार्यलयको सहजिकरणमा “गरिवि विरुद्ध महिला” कार्यक्रम अन्र्तगत “सृजनशिल किशोरी वृत्त” का विभिन्न वार्ड स्तरीय किशोरी समुहहरुले सिमजुङ्ग गा.बि.स. लाई खुला दिसा मुक्त बनाउन जति सहयोग गरे त्यो भन्दा बढी उक्त गा.बि.स. लाई सधै सफा राख्नमा निकै ठुलो भुमिका खेल्दै आएका छन् । उनीहरु प्रत्येक शनिवार ठिक ७ बजे आ–आफ्नो घरबाट कुचो र आवश्यक सामाग्री लिई टोलमा जम्मा भई टोल सरसफाइमा लाग्ने गरेको स्थानीयहरुले बताएका थिए । 
किशोरी भएका घरबाट सबै किशोरी अनिवार्य र नभएका घरबाट अरु कोही एक जना अनिवार्य सरसफाइ कार्यक्रममा उपस्थित हुनुपर्ने यदि नभएमा रु.२० जरिवाना लिने गरेको कुरा चण्डेश्वरी किशोरी समुहकी उपाध्यक्ष १३ वर्षिया आशिका खड्काले जानकारी गराईन् । साप्ताहिक सरसफाइ बाहेक उक्त किशोरी समुहरुले मासिक बचत उठाउने र आय आर्जनमुलक काममा लागानी गदै आएको छ । उत्पति किशोरी समुहकी उमा थापाले गर्व साथ भनिन् “गाउँका लागी केहि गर्ने प्रयास गरेका छौं, त्यति मात्र नभई हामीले गरेको बचत र लगानीले आफूलाई पढ्ने खर्च आफैं पुर्याएका छौं ।”

४. सरसफाइ साथि
खनेपानी र सरसफाइको लागी सिमजुङ्ग गा.बि.स.मा कार्यरत संस्था नेवाले सरसफाइका सारथीहरुको रुपमा २२ जना व्यक्तिहरुलाई तालिम लिएर दक्ष बनाई सरसफाइ साथिको रुपमा स्थापित गरेको छ । सरसफाइ साथिहरुमा प्रत्येक वार्डका स्वास्थ्य स्वयम सेविका, विद्यालयका शिक्षक शिक्षिका, नागरिकसचेतना मञ्चका व्यक्तिहरु रहेका छन् । सरसफाइ साथिहरुले गाउँका विभिन्न ठाउँमा गई मानिसहरुलाई सरसफाइको चेतना फैलाउने र व्यवहार परिवर्तन गर्नमा सहजिकरण गर्दै आएका छन् ।

सरसफाइ सबैको आधाभूत आवश्यकता हो । सिमजुङ्गले उक्त आवश्यकता पुरा गरेको छ । यस गा.बि.स. आफैमा एउटा नमुना गा.बि.स. भएकोले यसलाई अझै नमुना बनाउन सम्बन्धित सरोकारवालाहरु एकजुट भईरहेको अवस्था छ । स्थानीय राजनितिज्ञहरु लगायत गाउँका अगुवा व्यक्तित्वहरु गाउँका जनशक्तिहरु विदेशीने क्रम तिव्र रहेकोले यसलाई रोक्न आफ्नै गाउँमा रोजगारीको सृजना गर्ने हिसाबले विभिन्न किसिमका फलफूल, तरकारी, मौरी पालन लगायत अन्य नगदेबालीहरुको परिक्षण खेतिमा जुटिरहेका छन् । गा.बि.स. सचिव भन्छन् “प्रत्येक वडालाई फरक व्यवसायको नाम दिने तयारीमा जुटेका छौं हामी सिमजुङ्गबासी ।” उनी थप्छन् “सपना देख्नुपर्छ अवश्य पुरा हुन्छ ।” आशा छ सिमजुङ्गबासीको सपना छिटै पुरा होस्, अनि यसरीनै नेपालका प्रत्येक गा.बि.स.ले सरसफाइमा मात्र नभई प्रत्येक क्षेत्रमा आफुलाई नमुनाको रुपमन प्रस्तुत गर्न सकोस् ।

लेखनः 
कमला के.सी. 
वाटरएड नेपाल 
Published on:
1. Commandar Post Daily on 17th April 2014
2. Daraudi Daily on 22nd April 2014

Monday, November 18, 2013

“चर्पि र चुनाव”...विश्व चर्पि दिवस विशेष

भन्छन् “Politics is as necessary as Toilet” संयोग पनि उस्तै परेको छ । भोलि मंसिर ४ गते नेपाल मा संविधान सभाको चुनाव हुदैछ, कसलाई भोट दिने, कसले जित्ला जस्ता कुराहरु आजकाल जनबोलि बनेको छ, बच्चा देखि बृद्ध सम्म सबैको चासोको विषय बनेको छ  । त्यसैगरि भोलि November 19, विश्व चर्पि दिबस, संविधान सभाको चुनाव जति प्रचार प्रसार र जनचासोको विषय नबनेपनि यसको आफ्नै महत्व छ, विश्वभरका बिकास निर्माण साथै खानेपानी तथा सरसफाइमा काम गर्ने संघ संस्थाहरुले यसलाई महत्वका साथ मनाउन गईरहेका छन् ।

आजसम्म पनि नेपालका ४० प्रतिशत भन्दा बढी घरधुरीमा चर्पि छैन र आधा भन्दा बढी जनसंख्या आजपनि खुला ठाउँमा हग्दैछन् । कुरा नेपालको मात्र हैन, आज सम्म पनि विश्वका साढे २ अर्व (२.५ विलियन) भन्दा बढी मानिसहरु  सफा र स्वस्थ व्यक्तिगत चर्पिको पहुचबाट बन्चित छन् । नेपाल लगाएत कयौ बिकासोन्मुख देशका मानिसहरु चर्पि नभएकै कारण विभिन्न किसिमका पानी र सरसफाइजन्य रोगहरुको सिकार भई अकालमा ज्यान गुमाईरहेका छन् । यिनै कुरालाई मध्य नजर गदै र सरसफाइलाई मानव जीवनको आधारभूत आवश्यकताको रुपमा पैरवि गदै विभिन्न कार्यक्रमहरुको आयोजना गरि सन् २००१ देखि विश्व चर्पि दिबस मनाइदै आएकोे पाईन्छ ।

अब फेरि कुरा जोडौ नेपालको संविधान सभा चुनावकै, संविधान बनाउलान् र देशमा शान्ति र अमनचैन छाउला भन्ने आशले सम्पूर्ण देशबासीहरु भोट हाल्न आतुर छन् । त्यसरीनै नेपाल सरकार तगायत अन्य सरोकारवाला संघ संस्थाहरु पनि सन् २०१७ सम्ममा नेपालमा एक घर एक चर्पि होस् भन्ने कुरामा आतुर छन् । यसपालिको संविधान सभाको चुनावमा चुनिएका व्यक्ति र राजनितिक पार्टीहरुले संविधान बनाउलान् नबनाउलान् (आशा गरौ बन्नेछ) तर तपाई भने आफ्नो घरमा चर्पि अवश्य बनाउनुहोला साथै बनाईसक्नु भएको छ भने त्यसलाई प्रयोग संगै सफा पनि राख्नुहोला, साथै जसरी चुनावमा आफ्नो पार्टीलाई भोट हाल्न आग्रह गर्यौ त्यसरी नै हाम्रा छिमेकी, आफन्त तगायत सम्पूर्णलाई चर्पि बनाई चर्पिमा नै दिसापिसाब गर्न आग्रह गरौ । भोलिको चुनाव पश्चात संविधान बनाउने जिम्मेवारी नेता र दललाई दिदै आफ्नो घरमा चर्पि बनाउने साथै छिमेकी र आफ्न्तलाई चर्पि बनाउन आग्रह गर्ने जिम्मा हामी सम्पूर्णले लिदै राष्ट्रिय लक्ष्लाई हाँसिल गर्न लागी परौ । 

याद गरौ, संविधान नबन्दा सम्पूर्णले नेता र दलहरुलाई गाली गरे जस्तै घरमा चर्पि नबन्दा र बाटो छेऊमा दिसा गर्दा र गर्नुपर्दा बाटेमा हिड्ने हरेक बटुबाले बाटो हगुवा भन्दै गालि गरेको सुन्नु पर्नेछ, घरका बालबच्चा, छोराछोरी, बिरामी, अशक्त, गर्भवति महिला आदीले पनि घरको जिम्मेवार व्यक्ति भएर पनि जिम्मेवारी वहन नगरेकोमा गालि गर्नेछन् । त्यसैले गाली हैन ताली पाउने काम गरौ, चर्पि बनाऊ साथै विभिन्न किसिमका रोगहरुलाई कम गराऊ र महामारी भगाऊ । चर्पि दिबसको शुभकामना !!! धन्यवाद चर्पि !!! :)

Sunday, July 29, 2012

GDP for GDP | WSSCC

The new Global WASH Campaign is here: Good Dignity Practices for Gross Domestic Product (GDP for GDP).


The Global WASH Campaign, initiated by WSSCC in 2001, is a global advocacy movement around safe water, sanitation and hygiene. A new set of materials has been developed, themed GDP for GDP, focusing on the economic benefits to be gained from investing in sanitation while also stressing human dignity.

Wednesday, July 4, 2012

Tacit…personal thought


Satisfaction is the barrier of success” just remembered the answer given by one of my friend almost 3 years ago on debate among them “success or satisfaction?” when I just listening them and tried to internalize with full of silence, later on agreed but not satisfied which results started to think more. People’s busyness is fallouts of the race competition towards achieving success which creates pressure on mind, stress, jealousy and earns maladies, opponent, fear, frustration etcetera.

In search of inner peace and peaceful mind people are walking hither and thither without the stop in confusion. Satisfaction creates inner peace which I believe, satisfaction become with good results and outcomes for which we need creativity, smartness and good environment to execute. Creativity comes from idea and idea comes from knowledge, good learning and working environment which indicates some level of freedom, nourish them.

A type of wonderings is there in mind while talking about freedom those who have power, oblivious about that “freedom is not free”. Bountiful freedom means conviction which results honesty, motivation, willingness and finally good results.

Tuesday, April 17, 2012

समिक्षा २०६८– मुख्य सिकाईहरु...


“तिम्रो खुसीको क्षण कुन हो ?, तिम्रो सिकाईको स्रोत के हो ? ” आदी इत्यादी प्रश्नहरु जब म संग सोधिन्छ तब मेरो उत्तर प्राय एउटै हुने गर्दछ त्यो हो– “म प्राय खुसी नै रहन्छु तर भन्नै पर्दा म बिहानको सुर्योदय जसले केहि गर्नको निम्ति भनि एउटा सुनौलो दिनको सुरुवात गरिदिन्छ र बेलुकीको सुर्यास्त जसले आराम गर्ने अनि भोलिको लागी नयाँ कुराको योजना तयार पार्ने समयको आभास गरिदिन्छ त्यो नै मेरो खुसीको क्षण हो र म प्रत्येक व्यक्ति र हरेक क्रियाकलापबाट कुराहरु सिकिरहेको हुन्छु ।”

सिकाइकै क्रममा २०६८ सालले पनि नेटो काट्नै लाग्दा दिमागमा “मैले यो सालमा के कुराहरु सिके त ?” भन्ने प्रश्नले मलाई २०६८ सालको समिक्षा तर्फ डोर्यायो । कुरा केहि दिन अगाडी देखिको हो, नयाँ वर्ष २०६९ लाई स्वागत गर्दै गर्दा मेरो मनमा “यो सालमा के काम गरे त” भन्ने जस्ता धेरै कुराहरु खेलिरहेका थिए जब मैले घरमा दाईले किनेर ल्याउनु भएको साप्ताहिक पत्रिका पढ्न भनि समाते तब पहिलो पेजमा नै राम्रो कुरा देखे “संसारलाई उज्यालो दिनु छ भने पहिले आफु दिपक बन्नु पर्दछ” यो त्यहि कुरा हो जसले मेरो “मैले के गरे” भन्ने सोचाईलाई “मैले के सिके” भन्नेमा परिवर्तन गरिदियो किनकि मलाई लाग्यो केहि गर्न त पहिले केहि सिक्नु पर्छ, बिना सिकाई केहि गरिन्न र बिना गराई केहि सिकिन्न ।

“कि पढेर जानिन्छ कि त परेर र गरेर” भन्ने हाम्रो प्रचलित नेपाली उखान हो । यसैलाई आधार मान्ने हो भने मैले अहिले सम्मको जीवन यात्रामा परेर र गरेर भन्दा पनि पढेर धेरै सिकेको रहेछु तर २०६८ सालमा भने पढेर भन्दा पनि परेर र गरेर धेरै सिक्ने अवसर पाएछु । कामको सिलसिलामा धेरै प्रकारका क्षमता र सोचाई भएका मानिसहरु संग भेट्ने र संगत गर्ने अवसर पाए जसबाट मैले धेरै कुराहरु सिके त्यो भन्दा पनी बढि मेरा साथिहरु साथै अग्रजहरु जो संग म एकदमै नजिक भएर काम गर्न पाए उहाँहरु संग सिके । यहि दौरानमा केहि जीवनका भोगाइहरु र जागिरे क्षेत्रको काम गराईहरुलाई केहि नजिकबाट नियाल्ने मौका पनि पाए । काम गर्ने भन्दा पनि गर्नको लागी गरिदिने विचारधाराका मानिसहरु पनि धेरै भेटिए तर म जहिले पनि आफुलाई काम गर्ने मानिसहरुको भिडतर्फ नै तान्न खोजे (सधै तानिने प्रयास गर्ने छु) । कामको साथ साथै यो वर्षमा विभिन्न किसिमका तालिमहरु पनि लिने अवसर पाएछु, विश्लेषण गरी हेर्दा अहिले सम्मकै धेरै तालिमहरु २०६८ सालमा लिएको पाए त्यसैले मैले यो साललाई आफ्नो लागी “तालिमहरुको वर्ष” (year of the training) भनेर घोषणा गरे ।
यो लेखको सुरुवात देखि नै मैले धेरै कुराहरु सिके मात्र भनिरहे तर वास्तबमा नै कुराहरु चाही के सिके त भन्ने कुराको खुलदुलि सबैलाई हुन्छ तलका केहि बुदाँहरुबाट त्यो खुलदुलि मेटाउने प्रयास गर्दैछु ।

मेरा मुख्य सिकाईहरुः
“सधै खुसी रहनु”–हामी सोच्छौ खुसि हुनलाई ठुलै उपलब्धि हासिल गर्नुपर्छ तर त्यसो हैन रहेछ स–साना कुरा जस्तै बच्चा हाँसेको÷खेलेको, फूल फुलेको, घाम उदाएको, चराहरु उडेको आदी इत्यादी,
 सबै व्यक्ति (चाहे त्यो साने बच्चा किन नहोस्), काम वा कुराहरुवाट सिक्न सकिन्छ र सिक्नु पर्दछ,
सबैको भावना र विचारहरुलाई कदर गर्न र उसको कामलाई सम्मान गर्न कहिल्यै विर्सनु हुँदैन किनकि यो संसारमा सबैको आ–आफ्नै महत्व छ ।
सबैलाई मधुर मुस्कानमा साथ धन्यवाद र गल्ति भएमा माफी भन्नलाई लोभ नगरौ किनकि यहि एउटा शब्दले कसैको अनुहारमा हाँसो छाउछ भने यसमा कन्जुस्याई किन,
अनुकुल समय पाएमा आफ्नो प्रतिभम, क्षमता र गुण प्रर्दशन गर्न कहिल्यै नभुल्नु जसले आफुमा सुधार ल्याउछ र आत्माविश्वास बढाउदछ,
आफुले जानेको कुरा सकेसम्म अरुलाई पनि सिकाउनु वा छलफल गर्नु,
कुराहरुलाई विभिन्न कोणहरुबाट हेर्नु र विश्लेषण गर्नु जसले धेरै उपयाहरु पत्ता लगाउन मद्घत गर्छ,
सधै सबैको कुराहरुमा हुन्छ नभन्नु, आफ्नो योजनालाई प्रथमिकता दिनु,
ऋाफुलाई हरेक कुरामा वादविवाद गर्न सक्ने गरी बिकास गर्नु, आदी इत्यादी ।

यी त भए मेरा सिकाईहरु (कतिपय कुराहरु तपाईहरु लाई उचित नलाग्न पनि सक्छ) । सिकाई तब मात्र पुर्ण हुन्छ जब हामी त्यसलाई व्यवहारमा लागु गर्छौ, त्यस्तै यी माथिका मेरा सिकाईहरु जुन मैले काम गराईको सिलसिलामा साथै केहि पुस्तक पढेर त केहि तालिमबाट सिके तिनिहरु कतिपय मैले आफ्नो व्यवहारमा लागु गरे, कति गर्दैछु र कति गर्नेछु ।
यी सबै त सिकाईको एउटा सानो सुरुवात मात्र हो, मैले अरुलाई कति कुरा दिन वा सिकाउन सके त्यो त उहाँहरुलाई नै थाहा होला तर मैले भने सबैबाट धेरै कुरा सिकेको छु आशा छ मेरा यी २०६८ सालका सिकाईहरुले केहि मात्रामा भएपनि मलाई दिपक बनाउन सहयोग गरेको छ र मधुरै भएपनि संसारलाई उज्यालो दिन थाल्नेछु र तपाईहरुले पनि संसारलाई उज्यालो छर्नुहुनेछ भन्ने आत्माविश्वासका साथ नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना ! :)

Thursday, April 12, 2012

नयाँ वर्षको शुभकामना !



२०६८ सालको विदाई संगै बसन्त आज ऋतु छाएको छ,

हरिया, कलिला मुना अनि फुलसंगै नयाँ वर्ष आएको छ । 



दुःख, पीडा बिर्सिएर सबै फूल जस्तै मुस्कुराउनु सधै,

चरिले पनि चिरबिर गर्दै शुभकामनाको गीत गाएको छ ।




मनमा शान्ति, ओठमा हाँसो अनि शरीरमा उमगं मिलोस्,

यहि सबैलाई २०६९ सालको शुभकामना दिन मन लाएको छ ।

Thursday, March 15, 2012

पानी वर्षा


मार्च महिना, जसलाई हामी पानी, स्वास्थ्य र सरसफाइमा काम गर्नेहरु पानीको महिना भनेर भन्ने गछौं । सधै झै यसपालि पनि मार्च महिनाको आरम्भ हुनासाथ “विश्व पानी दिबस” को अवसरमा के कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्दै सरोकारवालाहरु तयारीमा जुट्न थाल्दा मैले पनि यसको लागी के गर्न सकिएला भनेर सोच्दै थिए दिमागमा “पानी वर्षा” भन्ने शब्द फुर्यो र साथिहरुलाई सुनाए पनि । शब्द त फुर्यो तर गर्ने के ? धेरै सोचे तर अहँ दिमाग मरे चलेन त्यसपछि यो कुरालाई छोडेर यसो ईन्टरनेटमा यसपालिको “विश्व पानी दिबस” को नारा के रहेछ भनि खाज्न थाले अनि थाहा पाए यसमा त “पानी र खाद्य सुरक्षा” भन्ने मुल नारालाई जोड दिएको रहेछ । पर्यो फसाद, पानी वर्षा कसरी गराउने ?  
ईन्टरनेटको बटन तल सादै जादाँ हामीले खाने हरेक कुरामा कति मात्रामा पानी हुन्छ, भनि पानी र खाद्यनको सम्बन्धलाई राम्रो संग प्रष्ट्याईएको छोटो भिडियो हेर्न पाए जसले मेरो दिमागमा अर्को झिल्को बाल्न मद्धत गर्यो र “पानी वर्षा” मोडियो “पानी गित” तर्फ ।

“पानी बिनाको माछा” को सबैले चर्चा गर्छन । सायद यहि कुराबाट प्रभावित भएर हो कि क्या हो यसपालीको “विश्व पानी दिबस” मा पानी बिनाको खाद्यन्नको कुरा आयो । म पनि के कम, पानी र गितको सम्बन्ध हेर्छु भनेर लागीपरे र पानीलाई लिएर बनाईएका गितहरु कुन कुन रहेछन् भनेर घोत्लिन थाले अनि कापि र कलम लिएर दिमागमा आएका सम्पूर्ण गीतहरुलाई टिप्दै गए । यसरी यु–टुव लगाएतका अन्य वेवसाइटहरुको सहयोग बिना ३७ वटा गीतहरुलाई मैले आफ्नो कापिमा टिपे जुन यस प्रकार छन्;

असारे महिनामा पानी पर्यो रुझाउने....  
ए झरी नझरीदेउ यसरी....
साउने झरीमा यो गाउँको गोरेटो....
यो पानी कस्तो बेईमानी अगंअगं छुन्छ मेरो लाजै नमानी...
झरनाको चिसो पानी...
पानी मिठो मेरो हजुर इलाम बजारको...
मैले छोएको पानी चल्दैन...
तिर्खा लाग्यो पानी खाए...
तालको पानी माछीले खानी...
हिउँ खोलाको पानी छुनै नहुने...
खोलाको त्यो सङ्घलो पानी, कता हिड्यौ कहाँ जानी...
सललल पानी घट्टामा...
सललल खोलिको पानीले...
आमैले भन्थे धाराको पानी...
पानी मुनी ढुङ्गामा लेउ लाग्यो...
फुलको थुङ्गा बगेर गयो गगांको पानीमा...
सिम सिम पानी रहिछौ बेईमानी...
जिन्दगी बगेको पानी हो, फेरि फर्कि आउदैन लै बरी लै...
कहिले आगो, कहिले पानी...
साह्रै मिठो रै छ कुवाको पानी...
रानी खोलाको पानी...
पुरानो डुङ्गा पानीको छाल पार गरु कसरी...
मै छोरी सुन्दरी कसरी भरौ पानी...
बिना बादल असिना पानी...
पानी घट्टा घुमे झै फनन,फनन...
पानी खाने निउले तिम्रो घरमा आउला...
न खानु पानी तुम्बाको...
माछा पानीमा पौडी यसरी...
कहिले घाम, कहिले पानी...
पानी घट्टा घुमेझै फनन, फनन...
सङ्गलो सङ्गलो पानी माथि सुकिले छ छायाँ...
माछी मार्न जाउ न राजै कालापानीमा...
कर्कलाको पानी ढलपल जिन्दगानी...
वर्षा तिमि झम झम गरी वर्षिदेउ न...
मान्छेको माया यहाँ खोलाको पानी जस्तै...
गहिरो गहिरो सागर जस्तै...
यसरी सजिलै ३७ वटा गीतको लिस्ट तयार भएपछि मलाई लाग्यो “पानी बिनाको माछा” मात्र होइन “पानी बिनको गीत” भन्ने उखान पनि बनाउन सकिन्छ । खैर जे होस्, पानी यस्तो चिज हो जस बिना हामी कुनै कुराको कल्पना गर्न सक्दैनौ, पानी छ र त हाम्रो अर्थ छ (“हामी छौ र त पानीको अर्थ छ” पो पनि हुन सक्छ । 
अन्त्यमा, यसपालीको “विश्व पानी दिबस” को अबसरमा सम्पुर्ण पानी प्रेमिहरुलाई शुभकामना व्यक्त गर्न गर्दै रविन सायमिको यो रमाईलो तर सिरियस कार्टुनको साथमा बिदा चाहान्छु धन्यवाद ।